Flood Impact on Hydropower

Flood Impact on Hydropower


पोखरा, लमजुङ — केही दिनदेखिको भारी वर्षाका कारण नदी र खोलाहरूमा आएको बाढीले निर्माण सम्पन्न र निर्माणाधीन १० जलविद्युत् आयोजनामा व्यापक क्षति भएको छ । बाढीले आयोजनाहरूका इन्टेक, पावरहाउस, स्विचार्ड, सुरुङ, पेनस्टक, टेलरेसलगायत संरचनामा क्षति पुर्‍याएको छ ।

कास्कीको मादी गाउँपालिकास्थित मादी नदीमा आएको बाढीले जलमग्न नामार्जुङ मादी जलविद्युत् आयोजनाको विद्युत् गृह । तस्बिर सौजन्य : तारा पौडेल

करोडौंको निर्माण सामग्री र सवारीसाधन पनि बगाएको छ । केन्द्रीय प्रसारण लाइनमा जोड्न बनाइएका टावर पनि बगेका छन् ।

कास्कीको मादी नदीमा आएको बाढीले एक निर्माणाधीन र सञ्चालनमा रहेका तीन जलविद्युत् आयोजनामा अर्बौं रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । १२ मेगावाटको नामार्जुङ मादी हाइड्रो, २५ मेगावाटको अपर मादी, १३ मोगावाटको सिक्लेस हाइड्रो र ४४ मेगावाटको निर्माणाधीन सुपर मादी हाइड्रोमा क्षति पुगेको हो । सबैभन्दा बढी क्षति नामार्जुङ मादी र सुपर मादीमा भएको छ । गत भदौबाट केन्द्रीय प्रसारण लाइनमा जोडिएको नामार्जुङ मादीको ड्याम र विद्युत् गृहमा नराम्ररी क्षति पुर्‍याएको हिमालय हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत अभिषेक केसीले बताए । उनका अनुसार मादी नदीले बाटो बगाउँदा ड्यामसम्म पुग्न सकिने अवस्था छैन । ‘यति नै क्षति भयो भन्ने पानी घटेपछि मात्रै भन्न सक्छौं,’ उनले भने ।

निर्माणको अन्तिम चरणमा पुगेको सुपर मादी हाइड्रोको मुहानदेखि विद्युत्गृहसम्मै क्षति पुगेको छ । पावरहाउस पुरिएको छ । बाढीले आयोजनाका ब्याचिङ प्लान्ट, क्रसर एक्स्काभेटर, ह्विल लोडर, ४ एक्स्काभेटर, ४ टिप्पर, २ ट्रान्जिट मिक्स्चर, ६ वटा कम्प्रेसर, ४ सय ५० टन बढी डन्डी, १० हजार बोरा सिमेन्ट, ३ वटा क्रसर बगाएको छ । विद्युतगृह र ड्यामतर्फको मजदुर क्याम्प पनि सबै बगाएको छ । आयोजना अध्यक्ष पुष्पज्योति ढुंगानाका अनुसार सिभिलतर्फ मात्रै ६० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । २० करोड बराबरका निर्माण सामग्री, २० करोड बराबरका सवारीसाधन, उपकरण, १५ करोड बराबरको भौतिक संरचना, ५ करोड बराबरको पहुँच सडक र मजदुर क्याम्पमा क्षति पुगेको उनको दाबी छ । ‘इलेक्ट्रोमेकानिकलतर्फ २० करोड र हाइड्रोमेकानिकलतर्फ १० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ,’ उनले भने, ‘अब आयोजना ६ महिना पछाडि धकेलिँदा अहिलेको क्षति एक अर्ब रुपैयाँभन्दा बढी हुन जान्छ ।’

आयोजनाको सिभिलतर्फ ८० प्रतिशत र इलेक्ट्रोमेकानिकलतर्फ ५० प्रतिशत काम सकिएको थियो । उत्पादित विद्युत् आगामी चैतमा केन्द्रीय प्रसारण लाइनमा जोड्ने गरी ट्रान्समिसन लाइन निर्माण सुरु भइसकेको थियो । टावर गाड्न तयार पारिएका सबै सामान बाढीले बगाएको अध्यक्ष ढुंगानाले बताए । ‘१५ सय घनमिटर प्रतिसेकेन्ड पानीको बहाव थेग्ने गरी संरचना बनेका थिए,’ उनले भने, ‘निर्माण सकिएको हुन्थ्यो भने यति ठूलो क्षति हुँदैनथ्यो । बनाउँदा बनाउँदै आएकाले सुरक्षित गर्न सकेनौं ।’

 

 

बाढी आउन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मजदुरलाई भने पहिले नै सुरक्षित गरिएको उनले बताए । उनका अनुसार ३ सय ५० मजदुर निर्माणमा संलग्न थिए । साढे सात अर्ब रुपैयाँको लागत निर्माण भइरहेको आयोजनामा झन्डै साढे ५ अर्ब रुपैयाँ खर्च भइसकेको थियो । २५ मेगावाटको अपर मादी हाइड्रोको ड्याम बाढीले पुरिएको छ । पावर हाउसमा पनि क्षति पुगेको छ । साढे ४ वर्षअघि केन्द्रीय प्रसारण लाइनमा जोडिएको आयोजनामा चिनियाँ लगानी छ । हाइड्रोका बजार व्यवस्थापक गंगादत्त सापकोटाका अनुसार क्षतिको विवरण आउन अझै ३/४ दिन लाग्ने छ । १३ मेगावाटको सिक्लेस हाइड्रोको ट्रान्समिसन लाइन र स्विचयार्ड मादीको बाढीले बगाएको छ । ड्याम र पावर हाउसमा पनि क्षति पुगेको छ ।

यसैगरी लमजुङको दोर्दीखोलाको सबैभन्दा माथि निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा व्यापक क्षति पुर्‍याएको छ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले ८ अर्ब ८० करोड रुपैयाँमा निर्माण गर्न लागेको आयोजनाको ८५ प्रतिशत काम सकिएको थियो । आयोजना निर्देशक अर्जुनप्रसाद गौतमका अनुसार १ अर्बभन्दा बढीको क्षति भएको अनुमान छ । ‘इन्टेकमा भएका उपकरण र सामग्री सबै बगायो । सुरुङमा पानी पसेको छ । बाँध क्षेत्रमा पुग्न सकेको छैनौं,’ उनले भने ।

लमजुङको दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजना 'ख' को इन्टेकमा बाढीले पुर्‍याएको क्षति । तस्बिर: कान्तिपुर

हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाको इन्टेक र पावरहाउसमा पनि व्यापक क्षति पुगेको छ । कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले इन्टेकमा दोर्दीखोला र पावरहाउसमा मर्स्याङ्दीले क्षति पुर्‍याएको बताए । ४ अर्ब २३ करोड ३५ लाखमा निर्माण गर्ने प्रक्षेपण गरेको उक्त आयोजनाले विद्युत् उत्पादन तयारीका लागि संरचनाको परीक्षण थालिसकेको थियो ।

आयोजनाको निर्माण सकेर परीक्षण थालेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएको छ । लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरिरहेको आयोजना यही असारबाट व्यावसायिक विद्युत् उत्पादनको तयारीमा थियो ।

प्रकाशित : असार ४, २०७८ ०८:४९